वीरगंज । गएराति आएको हावाहुरीका कारण वीरगंजको लक्ष्मनवाका विष्णुदेब यादबका ६ वर्षीय बालक नितेश यादब गम्भीर घाइते भएका छन ।
सुतिरहेको समयमा राति १ बजेतिर आएको हावाहुरीले घरको छाना खसेर टाउकोमा लाग्दा उनी गम्भीर घाइते भएका हुन् । घाइते यादबको अहिले एल.एस.न्युरो अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा उपचाररत यादबको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगका लागि सबैसँग उनका बुवा विष्णुदेव यादबले आग्रह गरेका छन् ।
यसैबीच वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह हावाहुरीका कारण घर भत्केर घाइते भएका बालकको अवस्था बुझ्न आफैँ अस्पताल पुग्नु भएको छ । अस्पताल पुगेर प्रमुख सिंहले घाइतेको उपचारमा महानगरले आवश्यक सहयोग गर्ने भन्दै कुनै कसर बांकी नराख्न अस्पताललाई निर्देशन दिनुभएको छ ।
यस्तै हावाहुरीका कारण गएराति देखि नै अवरुद्ध भएको विद्युत आपुर्ति बिहीबार साँझदेखि मात्रै सुरु भएको छ । केही स्थानमा अझै पनि मर्मतको काम चलिरहेकाले आपुर्ति हुन सकेको छैन ।
गएराति वर्षासहित आएको आँधीहुरीका कारण ठाँउ ठाँउमा विद्युतको पोल भाँचिएर लडेको र केही ठाँउको ट्रान्फर्मर पनि खसेपछि महानगर क्षेत्रमा विद्युत आपुर्ति गएरातिदेखि आज दिनभर अवरुद्ध हुनपुग्यो ।
विद्यूत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेका अनुसार, रातिको आँधीहुरीले वीरगंज महानगरका विभिन्न स्थानमा गरी करिब २५ वटा विद्युतको पोल भाँचिएर ढलेका छन् भने लालपर्सा र रतनपुरमा ट्रान्फर्मर नै पोलबाट खसेर क्षति भएको छ । वीरगन्ज ३० लालपर्सामा मात्रै १० वटा पोल भाँचिएर ढलेको उनले बताए । यस्तै वीरगन्जको पावरहाउस चोकमा पनि ५ वटा पोल लडेको जानकारी उनले दिए ।
जसका कारण वीरगन्ज महानगर क्षेत्रमा राति साढे १२ बजेदेखि नै विद्युत सेवा अवरुद्ध भएको हो । ठाँउ ठाँउमा ढलेका पोल, तार र ट्रान्सफर्मर मर्मतको काम दिनभर गरिएको र अहिलेपनि प्राविधिकहरु त्यसमै लागि रहेको दुबेले बताए ।