तनहुँ । व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाले पुनः मत गणना तत्काल राेक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
उच्च अदालत, पोखराले पुनः मतगणनाको आदेश दिएपछि हालका नगर प्रमुख वैकुण्ठ न्यौपानेले अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। यसको पेसी जेठ २७ गते आइतबार तोकिएको छ।
स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकामा नेपाली कांग्रेस का तर्फबाट उम्मेदवारी दिएका वैकुण्ठ न्यौपाने बिजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेर चुनाव जित्दा उनका निकटतम् प्रतिद्धन्द्दी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गरेका थिए ।
कांग्रेस नेता गोविन्दराज जोशीका छोरासमेत रहेका दीपकराजले मतगणना सकिएलगत्तै धाँधली भएको भन्दै दर्ता गराएको मुद्धामा उच्च अदालत पोखराले गत २ जेठमा पुनः मतगणना गर्न आदेश दिइसकेको छ ।
अदालतको आदेशअनुसार सो पालिकाको मतगणना फैसला भएको एक महिना पछि अर्थात २ असार बिहान १० बजेबाट गर्नू भन्ने उल्लेख भएकाले सोही अनुसार तयारी अघि बढाएको हो ।
व्यासको मेयरमा वैकुण्ठले दोस्रो पटक जितेका हुन् । अघिल्लो निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार शंकरनारायण श्रेष्ठलाई ३ हजार ४६४ मत अन्तरले पराजित गरेका थिए ।