गुणस्तरहिन सडक जलमग्न, तत्काल भत्काएर बनाउन चन्द्रपुरका मेयरको निर्देशन

Share:

रौतहट । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेलाको मुख्य बाटोको कालोपत्रेकाे काम गुणस्तरहिन भएको बताएका छन् ।

नगर प्रमुख काफ्लेले हाल गर्दै आएको सडकको काम गुणस्तरहिन भएको र सडकमा नै जलासय बनेको कारण तुरुन्त सच्चाउन निमार्ण कम्पनीलाइ निर्देशन दिएका छन् । सडकको मापदण्ड अनुसार तोकिए बमोजिमको काम गर्न उनले निर्माण कम्पनीलाई सुझाव दिएका थिए ।

चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित जुडिवेलामा निर्माण कार्य भै रहेको कालोपत्रे सडकको बिहिबार स्थलगत निरिक्षण गर्दै उनले उक्त निर्देशन दिएका हुन्। कालोपत्रे सडक मापदण्ड अनुसार नभएको र काममा लापरबाही भएको जनगुनासो आएपछि आफू स्थलगत निरीक्षणका लागि आएको उनले बताए ।

सडक कालोपत्रेको काम जुनसुकै निकायले गरेको काम भएपनि कमसल र झाराटारी नगर्न र गुणस्तरीय हुनुपर्नेमा उनले जाेड दिए । सडक मोटाइ नपुगेको, लेभलिङ नमिलेको, पानी परेको अवस्थामा समेत ठेकेदार कम्पनीले कालोपत्रे गरेको गुनासोका आधारमा आफू अनुगमनमा आएको काफ्लेले जानकारी दिए ।

नगर प्रमुख काफ्लेले सडकको बेस निर्माणमा कमसल कच्चापदार्थ बढी मात्रामा प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको हुन सक्ने बताए । यदपी प्राविधिक तथा ईन्जिनियरले यसको मूल्याङ्गन गर्नु पर्ने उनको तर्क छ ।

जुडिवेलाका अगुवा नेता प्यारो कार्कीका अनुसार कालोपत्रे सडकमा नै बर्षातको पानी जम्ने गरेको पाइएको छ । कालोपत्रे सडकबाट पानी नालामा नबग्नुले लापरबाही तरिकाले काम भएको उनले आरोप लगाए । पटक पटक निर्माण कम्पनीका प्रतिनिधिहरुलाई सम्झाउँदा समेत बेवास्ता गरेको उनको आरोप छ ।

जुडिबेलाको प्रवेशद्धारदेखि असनवासम्मको मुल सडकको दाँया बाँया नालासहितको कालोपत्रे,नयाँ बस्तीको सडक ढलान तथा गैडाटारको हाट बजार ब्यबस्थापनको लागि ठेक्का लागेको थियो । सो ४ वटा योजना सम्पन्न गर्नको लागि १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाँको लागतमा बिनायक/प्रजिल जेभि भक्तपुरले ठेक्का लिएको छ ।

सो ४ वटा योजनाको अनुमानित लागत २४ करोड ८८ लाख ४३ हजार ८८६ रहेको भएतापनि निमार्ण कम्पनीले १६ करोड १२ लाख २१ हजार ३६५ रुपैयामा सकार गरेको छ । अहिले सोही अन्तर्गत जुडिवेला प्रवेशद्धारबाट कालो पत्रे सडक निर्माण कार्यले तीव्रता पाएको हो ।

दुई तर्फ नालाको काम सकिएको छ भने कालोपत्रेको काम पनि आन्तिम चरणमा पुगेको ठेकेदार निमार्ण कम्पनीले जनाएको छ । सहरी बिकास मन्त्रालय अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनामा यो बसपार्क बन्न लागेको हो । ठेकेदार निमार्ण कम्पनीले सो योजना आउदो २०८१ असोज १५ गते भित्र निमार्ण गरिसक्नुपर्ने छ ।

चन्द्रपुर नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी, नगरपालिकाका ईन्जिनियर महेश वोहरा र पत्रकार लगायतले अनुगमन गरेका हुन् ।

अनुगमनमा पुगेको टोलीलाई स्थानीयले सडक निर्माणका क्रममा भएको त्रुटि वा कमिकमजोरीको बारेमा बताएका हुन् ।

कमेन्ट गर्नुहोस्