काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आज ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ ।
विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यवसायिक प्रयोजनमा आएका सटर तथा टहराहरुमा ताला लगाएको हो । यसरी ताला लगाइएका सटरहरुमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको शहीद शुक्र मा.वि.ले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मा.वि. डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मा.वि. डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटर रहेका छन् ।
शैक्षिक क्रियाकलापका लागि उपयोग हुनु पर्ने ठाउँ भाडामा लगाएर आय गरेका सटरहरुमा ताला लगाएर ताला प्रधानाध्यापकहरुलाई बुझाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए । यसरी ताला लगाइएका सटरमा पुनः व्यवसाय चलाउन पाइँदैन । व्यवसायीलाई आफ्ना सामान लैजान ७ दिनको समय दिइएको छ ।
‘महानगरपालिका भित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालय परिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ । यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्’, दाहालले भने, ‘विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ । विद्यालयहरुले माग गरेकोभन्दा धेरै कार्यक्रम पठाएको छ ।’
‘विद्यालयहरु स्थान अभाव भएको बताउँदै शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको भन्दै आएका थिए । यसरी गुनासो गरिरहँदा आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा आएन’, प्रमुखको सचिवालय सदस्य सस्मित पोखरेल भन्छिन्, ‘विद्यालयहरुमा विज्ञान र कम्प्युटर ल्याब बनाउनु पर्नेछ । पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनु पर्नेछ । भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालन उपयोगमा ल्याउँछौँ ।’
विद्यालयको सम्पत्ति शैक्षिक क्रियाकलाप सञ्चालनमा उपयोग हुनुपर्ने कामनपाको जोड छ । विद्यालयले सरकारी सम्पत्ति आफू खुशी भाडा लगाउन नपाइने भन्दै महानगरले त्यस्ता विद्यालयको निगरानी गरिरहेको थियो । कतिपय विद्यालयहरुले नक्सा स्वीकृत नगरी टहरा बनाएर भाडामा लगाएको र त्यस्ता कामहरु पनि नियन्त्रणमा ल्याइने महानगरले जनाएको छ ।