फतुवाबिजयपुरका नागरिकलाई बिजुली फ्रि, पालिकाले तिरिदियाे नागरिककाे २ करोड ७५ लाख शुल्क

Share:

रौतहट । फतुवाबिजयपुर नगरपालिकाले नागरिककाे विद्युत शुल्क तिरिदिएकाे छ । नगरपालिकाले आम नागरिकको विद्युत महसुल बापत २ करोड ७५ लाखभन्दा बढी रुपैयाँ नेपाल विद्युत प्राधिकरण मौलापुर शाखामा बुझाएको हाे ।

कार्यवाहक मेयर अम्बेया खातुनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत वकिल पालसहित जनप्रतिनिधि र विभिन्न दलका नेता सम्मिलित टोलीले प्राधिकरण प्रमुख दिनेशकुमार यादवलाई नगरवासीको विद्युत महशुल बापत २ करोड, ७५ लाख २३ हजार ३२७ रुपैयाँ ३० पैसाको चेक हस्तानतरण गरेको हो ।

चेक हस्तान्तरण गर्ने टोलीमा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रकुमार यादव, नेकपा एमालेका नेता शिवपुजन यादव, वडा अध्यक्ष राकेशकुमार यादव (पप्पू), प्रमुख प्रशासकीय अधिकृत पाल लगायत सम्लग्न थिए ।

आर्थिक वर्ष २०८०/०८१ मा नगरको प्रत्येक घरको नयाँ तथा पुरानो विद्युत मीटरबाट घरायसी प्रयोजनमा खर्च भएको विद्युत महसुल बापत प्रत्येक परिवारको लागि १० हजार रुपैयाँ बुझाउने निर्णय अनुसार छुट्याईएको ४ करोड रुपैयाँबाट उक्त रकम प्राधिकरणलाई हस्तानतरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पालले जानकारी दिए।

नगरवासीलाई नि:शुल्क विद्युत उपलब्ध हुने निर्वाचन अघि आफूले घोषणा गरे अनुसार विद्युत महसुल बुझाइएको फतुवा विजयपुरकी कार्यवाहक मेयर अम्बेया खातुनले जानकारी दिइन्।

निर्वाचनअघि नि:शुल्क विद्युत उपलब्ध गराउने प्रतिवद्धता भएकाे र कार्यपालिकाबाट पनि पैसा समेत छुट्याइएकाे भन्दै  एमालेका नेता शिवपुजन यादवको अगुवाईमा सर्वदलीय संघर्ष समिति गठन गरी मेयर लगायत जनप्रतिनिधिलाई नगरपालिकाले समयमा विद्युत महसुल बुझाउन दबाब दिँदै आएको थियो ।

आम जनता पार्टीका नगर अध्यक्ष  तथा मेयर प्रत्याशी विजय यादवको अगुवाईमा पनि नगरवासीको विद्युत् महसुल बुझाउन नगरपालिका माथि दबाब दिइएकाे थियाे । यसअघि मेयर अम्बेया खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई  १० बुँदे माग सहितको ज्ञापन पत्र समेत बुझाइएकाे थियाे ।

फतुवा बिजयपुर नगरपालिकाका कांग्रेस पार्टीका निर्वाचित मेयर गोपाल राय यादव लाल बकैया नदीको टेण्डरको मुद्दामा दोषी ठहर भएर बिशेष अदालतबाट कैद सहितको जरिबाना गरिरहेका छन् । अहिले उपमेयर अम्बेया खातुनले पालिका प्रमुखकाे जिम्मेवारी सम्हालेकी छिन् ।

कमेन्ट गर्नुहोस्