नवराजपुर पालिकामा कामै नगरी तत्कालीन अध्यक्षसहित १२ जना मिलेर १४ लाखकाे भ्रष्टाचार, अख्तियरले हाल्याे मुद्दा

Share:

सिरहा । नवराजपुर गाउँपालिका तत्कालीन अध्यक्ष विश्व मोहनप्रसाद यादवसहित तत्कालीन पालिकाका १२ जना कर्मचारी र जननिर्वाचित प्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष यादव, उपाध्यक्ष शोभा कुमारी यादव भन्ने शोभा कुमारी, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, तत्कालीन जिन्सी प्रमुख संजयप्रसाद यादव, वडा नं. ४ का वडाअध्यक्ष मदन यादव र वडा नं. ५ का तत्कालीन वडाअध्यक्ष मनोज कुमार यादव, वडा नं. २ का तत्कालीन वडाअध्यक्ष खुशिलाल साहविरुद्ध विशेष अदालतमा १४ लाखभन्दा बढी भ्रष्टाचार गरेकाे अभियाेगमा मुद्दा दायर गरेको हो।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह र सब-इन्जिनियर सन्तोषकुमार यादव तथा उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाहविरुद्ध पनि अख्तियारले भ्रष्टाचारकाे मुद्दा दायर गरेकाे छ।

अख्तियारका अनुसार नवराजपुर गाउँपालिका वडा नं. २ मझौरामा प्रदेश नं.२ सरकारको सांसद अनुदानबाट राम जानकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो कार्य पूरा गर्नको लागि दिएको रकम काम नै नगरी कागजी प्रक्रियाबाट काम गरेकाे देखाएर पैसा भुक्तान लिएकाे पाइएकाे छ।

विद्यालय भवनको काम नै नगरी/नगराई नभए नगरेको कामलाई भए गरेको भनी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई झुट्टा मूल्याङ्‍कन गरी भुक्तानीको लागि स्वीकृत गरी/गराई, फिल्डमा नभए नगरेको कार्यलाई भएको भनी देखाई १४ लाख ५१ हजार ५५१ रुपैयाँ भुक्तानी लिई/दिई गाउँपालिकालाई हानी नोक्सानी पुर्‍याएको कारण मुद्दा दर्ता गरिएकाे अख्तियारले जनाएकाे छ।

कमेन्ट गर्नुहोस्