काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भारतकुमार थापासहित ६ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ ।
अख्तियारले मेयर थापासहित ६ जनाले संघीय सरकारको स्वीकृति बिना माछा पोखरी (भारत ताल) निर्माणका लागि ढुंगा, बालुवा उत्खनन गरेर ३० करोड २९ लाख ३४ हजार ८९७ रकम अनियमितता गरेको भन्दै मुद्धा दायर गरेको जनाएको छ ।
नगर कार्यपालिकाबाट माछापोखरीको डिपिआर तयार गरेको देखाएर बहुउद्देश्यीय माछापोखरी निर्माण गर्ने कार्यको गुरुयोजनासमेत स्वीकृत नगरेको अख्तियारको दाबी छ । बागमती नदीको बहाव प्रयोग गर्न स्वीकृति नलिई माछापोखरी (हाल भरत ताल) निर्माण गर्ने भनी सागरनाथ वन विकास परियोजनाअन्तर्गत वन क्षेत्रमा नेपाल सरकारको स्वीकृतिविना दुईवटा माछा पोखरीबाट ४७ लाख दुई सय ८५ घनमिटर नदीजन्य पदार्थ उत्खनन गरेको अख्तियारकाे निष्कर्ष छ ।
त्यसमध्ये सात लाख ५२ हजार घनमिटर बिक्री गरी सात लाख ५० हजार एक सय ४३ घनमिटर आयोजनामा प्रयोग गरी भण्डारणमा रहेको १८ लाख ५७ हजार सात सय १२ घनमिटरसहित ३३ लाख ५९ हजार आठ सय ६५ घनमिटर मात्र खर्च तथा मौज्दात देखिएको अभियाेगकाे निष्कर्ष छ। त्यसमा नपुग हुने १३ लाख ४० हजार चार सय १९ घनमिटर परिमाण हानि–नोक्सानी तथा दुरुपयोग गरेको अख्तियारको दाबी छ । त्यसको मूल्य र त्यसमा लाग्ने भ्याटसहित ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ रुपैयाँ हिनामिना गरेको अख्तियारको आरोप छ । यसैलाई अख्तियारले बिगो कायम गरेको छ ।
अख्तियारले हाल निलम्बित मेयर थापासहित नगरपालिकाकी उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र सर्लाहीको जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथु चौधरीलाई प्रतिवादी कायम गरेको छ । उनीहरूविरुद्ध जनही ३० करोडको बिगो मागदाबी अख्तियारले गरेको छ।