
काठमाडौँ । बन्दीपुर केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । यसअघि परीक्षण उडान सम्पन्न भएको उक्त केबलकार बिहीबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउन लागेको हो ।
वैशाख १ गतेबाट आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार बिहीबारदेखि व्यावसायिक रूपमा सञ्चालन ल्याइने कम्पनीले जनाएको छ ।
कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले व्यावसायिक सुरूवात गरेको अवसरमा सीमित समयका लागि ६० प्रतिशत छुटको अफर सार्वजनिक गरिएको बताए ।
कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएकाले केबलकार व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको शर्माले बताए । टियुभी नर्ड जर्मनी अन्तर्गतको कम्पनी टियुभी नर्ड इन्डियाले परियोजनाको सुपरिवेक्षण गरी सर्टिफिकेट प्रदान गरेको शर्माकाे भनाई छ ।
तीन चरणमा परीक्षणकाल सकिए पछि कम्पनीले कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त गरेको हाे । कम्पनीले सुरक्षा र गुणस्तरलाई पहिलो प्राथमिकता दिएकाले सम्पूर्ण तयारी पूरा गरी पूर्ण सुरक्षित वातावरण बनेपछि मात्र सर्वसाधारणका लागि केबलकार सञ्चालन गर्न लागेको शर्माले बताए।
केबलकारबाटै मन्दिर दर्शन गर्न सकिने
केबलकारमा सवार गरी बन्दीपुरको प्रसिद्ध खड्गदेवी मन्दिर दर्शन गर्न सकिने कम्पनीले जनाएको छ । उक्त मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गर्ने तयारी भइरहेको छ ।
यसअघि वर्षको एक दिन महाअष्टमीका दिन मात्र सर्वसाधारणका लागि खुल्ला हुने उक्त मन्दिर अब हरेक दिन दर्शन गर्न सकिने कम्पनीले जनाएको छ । भुईँ छोडेर मात्र उक्त मन्दिर दर्शन गर्न पर्छ भन्ने मान्यता बन्दीपुर केबलकार मार्फत पूरा हुने भएको छ ।
केबलकारबाट ९० डिग्रीको उकालो जस्तो देखिने चट्टान आरोहण गरेझैँ साहसिक अनुभूति लिन सकिने बताइएको छ । केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिनेछ ।
केबलकारसँगै बन्दीपुर–४ स्थित केबलकारको माथिल्लो स्टेशनमा निर्माणधीन सत्र तलाको ‘क्वीन टावर’ को काम पनि अन्तिम चरणमा पुगेको छ ।
केबलकार सञ्चालनसँगै पाँचतारे होटल छिट्टै सञ्चालनमा ल्याईने कम्पनीले जनाएको छ ।
एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरम दृश्य अवलकोन गर्दै केबलकारबाट पर्यटकले आनन्दका साथ यात्रा गर्न सक्नेछन् ।
उनका अनुसार केबलकारको २१ डिब्बा यात्रु बोक्न, ६ वटा रेष्ट्रो क्याबिन र २ वटा एड्भेन्चर गरी २९ डिब्बा छन् । एक डिब्बामा ८ जनासम्म बोक्नसक्ने क्षमता छ ।
केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ । न्यूनतम ५० देखि २५ हजारसम्म टिकट शुल्क तोकिएको छ ।
पृथ्वीराजमार्गमा रहेको तल्लो स्टेशनबाट माथि स्टेशनको बन्दीपुर बजारस्थित कलेजमा पढ्न जाने र आउने विद्यार्थीलाई ५० रुपैयाँ, पत्रकारलाई ३५० र अन्य यात्रुका लागि ५०० देखि २५ हजार रुपैयाँ सम्म शुल्क लाग्ने कम्पनीले जनाएको छ ।