अबिबाहित पुरुष र महिलालाई मदाने पालिकाले दिनेभयाे भत्ता

Share:

गुल्मी । मदाने गाउँपालिकाले अबिबाहित एकल पुरुष र महिलालाई भत्ता दिने भएको छ । गाउँपालिकाले लोककल्याणकारी राज्यको अवधारणा अनुसार सामाजिक सुरक्षा कार्यक्रम मार्फत अबिबाहित एकल पुरुष र महिलालाई भत्ता दिन लागेकाे प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत एकल पुरुष र एकल महिला कार्यविधि २०८० बमोजिम सामाजिक सुरक्षा कार्यक्रम मार्फत भत्ता प्रदान गर्न लागेकाे हाे ।

गाउँपालिकामा स्थायी रूपमा बसोबास गर्ने ४५ वर्ष पूरा भएका एकल पुरुष र ४० वर्ष पूरा भएका एकल महिलालाई भत्ता दिने तयारी छ । कुनै कारणले विवाह नगरी बसेका त्यस्ता पुरुष र महिलालाई भत्ता प्रदान गर्न लागिएकाे गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताए ।

श्रीमान् र श्रीमतीको मृत्यु भई अर्को विवाह नगरेका, विवाह भएर सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरी बसेका र १२ वर्षभन्दा बढी श्रीमान् र श्रीमती बेपत्ता भई एकल भएका पुरुष र महिलालाई एकल भएको महसुस नगराउनका लागि सामाजिक सुरक्षा कार्यक्रममार्फत भत्ता दिने गाउँपालिकाले जनाएकाे छ । एकल पुरुष र महिलालाई वार्षिक छ हजार रुपैयाँ भत्ता उपलब्ध गराउन लागिएकाे पन्थीले जानकारी दिए ।

भत्ता पाउन वडाबाट अविवाहित एवम् एकल भएको प्रमाणित गर्नुपर्ने हुन्छ । गाउँपालिकाभित्रका सात वटै वडा कार्यालयले एकल भएका पुरुष र महिला सात दिनभित्र सम्पर्कमा आउन सूचनासमेत जारी गरेकाे छ। अविवाहित सिफारिस लिन नेपाली नागरिकता प्रमाणपत्रको फोटोकपी, स्थायी रूपमा बसोबास गरेको खुल्ने कागजात र हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो र व्यक्तिगत बैङ्क खाता खोली सोको एक प्रति चेक वडामा उपलब्ध गराउनु पर्ने गाउँपालिकाले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्