विद्यालयमा कक्षा अवरोध हुने कुनै पनि कार्यक्रम नगर्न कालिगण्डकी गाउँपालिकाको अनुरोध

Share:

गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाले विद्यालय हाताभित्र कक्षा सञ्चालनमा अवरोध हुने कुनै पनि कार्यक्रम नगर्न सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

पछिल्लो समय कक्षा सञ्चालनमा अवरोध हुनेगरी नै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम भएको गुनासो आएको भन्दै पालिकाले विद्यालय हाताभित्र कक्षा अवरोध हुने कुनै पनि कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

गाउँपालिका क्षेत्र भित्र रहेका विद्यालयमा विद्यालयको कार्यक्रममा सहकार्य गरी गरिने कार्यक्रम बाहेक पढाइ सञ्चालन भएको समयमा विद्यालय हाताभित्र कुनै पनि कार्यक्रम नगर्न अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिए।

पठनपाठनलाई प्रभाव पार्ने बाहिरी कुनै पनि कार्यक्रम रोक्न गाउँपालिकाले सबै विद्यालयमा पत्र पठाएको गिरीले जानकारी दिए ।

प्रायः गाउँमा कुनै पनि कार्यक्रम गर्नका लागि विद्यालयकै ग्राउन्ड प्रयोग हुने गरेको र त्यस्ता कार्यक्रमले विद्यालयमा कक्षा सञ्चालनमा अवरोध हुने भएकाले यस्ता कार्यक्रम नगर्न पालिकाले अनुरोध गरेको गिरीले जनाकारी दिए ।

कमेन्ट गर्नुहोस्