ताप्लेजुङ । बुधबार रातिदेखिको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको घर बगाएको छ । गएराति आधारातमा पहिरोले घर बगाउँदा घरमा सुतिरहेका गाउँपालिका उपाध्यक्षका बुवा रामबहादुर लिम्बू, कान्छीआमा जसमाया लिम्बू, नौ वर्षीया बहिनीहरु गंगा र जमुनाको मृत्यु भएको हो ।
गाउँपालिकाको वडा नं. २, खेजेनिममा रहेको सो घरमा गाउँपालिका उपाध्यक्ष विकास साम्रा बस्दैन थिए । वडाध्यक्ष भुपेन्द्र चौलागाईले पहिरोमा परेर चार जनाको मृत्यु भएको जानकारी गराए । पहिराेले ढुंगा माटोको दुई तले घर पुरै बगाएको छ । खोज तथा उद्धारको काम चलिरहेकाे पालिकाले जनाएकाे छ ।
पहिरोले घरमा रहेका करिब ५० वटा बाख्रा र कुखुरा लगायत चौपाया पनि बगाएको छ । वडाध्यक्ष चौंलागाईका अनुसार बाढीका कारण फक्ताङलुङ गाउँपालिकामा बुधबार पनि दर्जनौँ पुलहरु बगाएको थियो ।