काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री नहुँदादेखि नै समस्याको रुपमा रहेको सहकारीको विषयमा अध्ययन गरिरहेको भन्दै उनले तत्काल समाधानको लागि पहल गर्ने बताएका छन्। उनले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पुगेको छ ।
सहकारीले कहिलेकाहीँ बैंकको भन्दा बढी कारोबार गरेकाले पनि समस्या आएको उनकाे भनाई छ । उनले आफ्नो मन्त्रालय मातहत रहेको मालपोत, नापीजस्ता कार्यालयमा पुगेर बेलाबेला छड्के पनि हानेका छन् ।
कपिलवस्तु–१ बाट निर्वाचित नेकपा एमालेका नेता अधिकारी पहिलोपटक मन्त्री भएका हुन् । २०७९ को निर्वाचनमा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का नेता चक्रपाणि खनाललगायतलाई हराएका उनले आफ्नो कार्यकालमा जनताले अनुभूति गर्ने गरी काम गर्ने बाचा गरेका छन् ।
आफ्नो र मन्त्रालयको कामबाट प्रधानमन्त्री पनि सन्तुष्ट रहेको भन्दै उनले कसैले पनि गुनासो नगर्ने गरी काम गर्ने बताएका छन् । छोटो समयमा नै मन्त्री फेरबदल गर्दा कामले गति लिन नसक्ने भन्दै उनले मन्त्रालयले गर्नुपर्ने कामबारे सुझाव पनि मागेका छन् ।
२०७० सालको संविधानसभाको निर्वाचनमा पनि निर्वाचित उनी लोकप्रिय नेताका रुपमा चिनिन्छन् । लामो समयदेखि राजनीति गर्दै आएका उनले राजनीतिलाई पेशाभन्दा पनि सेवा गर्ने साधनको रुपमा लिएका छन् ।