रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको बिवाद मिलेसँगै प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधान पक्का भएका छन।
पूर्व प्रशासकीय अधिकृत वकील पाललाई प्रमुख प्रशासकीय बनाउने मेयर अम्बेया खातुनको अडान भए पनि अन्य जनप्रतिनिधिले प्रधानलाई नै प्रमुख प्रशासकीय अधिकृत बनाउनुपर्ने अडान लिएपछि नगरपालिकामा बिवाद उत्पन्न भएको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकसाता अघि उपसचिव प्रधानलाई त्यहाँ सरुवा गरेको थियो। मन्त्रालयको निर्णय अनुसार उपसचिव प्रधान पाँचदिन अघि त्यहाँ हाजिर समेत भएका थिए। उनलाई मेयर बाहेकका जनप्रतिनिधि तथा केही राजनीतिक दलका नेताहरुले स्वागत समेत गरेका थिए।
तर कार्यवाहक मेयर खातुनले प्रधानलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा स्वीकार नगर्ने अडान लिएकी थिइन्। उनको श्रीमान महमद सेराजले मेयरको सहमति बिपरीत केही नेताले चलखेल गरेर प्रधानलाई ल्याएको आरोप लगाउँदै आएका थिए। तर शनिबार रौतहटका सिडियो हिरालाल रेग्मीको पहलमा फतुवा विजयपुरको समस्या समाधान भएको छ।
सिडियो रेग्मीको अगुवाईमा प्रमुख प्रशासकीय अधिकृत उप सचिव सुरेन्द्र प्रधान र कार्यबाहक नगर प्रमुख अम्बेया खातुन बीचको मतभेद अन्त्य भएको हाे । बिकास निर्माणका सवालमा मिलेर जाने र कार्यबाहक नगर प्रमुख खातुन,वडा अध्यक्ष लगायतका जनप्रतिनिधिसँगको सहकार्यमा नगरको विकास निर्माणको काम अगाडि बढाउने सहमति भएको छ।
सहमतिपछि जिल्ला प्रशासन कार्यालय भित्रै सिडियो रेग्मी, मेयर खातुन, अधिकृत प्रधान तथा नेताहरु सम्मिलित खिचिएको तस्विर शनिवार साँझ सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ। यस अघि प्रमुख प्रशासकीय अधिकृतको रूपमा रहेका वकील पाल मन्त्रालयको निर्देशन अनुसार आफ्नो दरबन्दीमा जाने भएका छन्।
यसका साथै उपसचिव सुरेन्द्र प्रधानलाई दोहरो जिम्मेवारी थपिएको छ। यसअघि उनी कटहरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेका थिए। फतुवा बिजयपुर नगरपालिकामा निर्वाचित मेयर गोपाल राय यादव लालबकैया नदीको टेन्डरमा दोषी ठहर भएर बिशेष अदालतबाट दण्ड सजाय तोकिएपछि उनको पद रिक्त भएको थियो।
लगत्तै उपमेयर अम्बेया खातुनले कार्यवाहकको जिम्मेवारी पाएदेखि नै उनी र अन्य जनप्रतिनिधिबीच बजेट भागबण्डाको बिषय लिएर पटकपटक बिवाद हुँदै आएको छ ।