कार्यपालिका सदस्यहरु उठेर हिँडेपछि मेयर बालेनले भने: कांग्रेस-एमालेकाे धङधङी बाेकेर बैठकमा नआउनू

Share:

काठमाडौं । काठमाडौं महानगरपालिको १५ औं नगरसभाका दोस्रोे बैठक असार १० गते सम्मका लागि स्थगित भएको छ ।

मेयर बालेन शाहले बैठक असार १० गते ११ बजे बस्नेगरी बैठक स्थगित भएकाे जानकारी दिएका छन् ।

मेयर शाहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए ।

लगतै कांग्रेस र एमालेका वडाध्यक्षहरुले नगरसभाको बैठक बहिस्कार गरेर सभाहलबाट उठेर गएका थिए । कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेपछि नगरसभाको बैठक स्थगित भएको हो ।

नयाँ सडकलाई नो भेकल जोन बनाउने काठमाडौं महानगरपालिकाका मेयरको प्रस्तावलाई आज बस्ने नगर सभामा पारित गर्ने तयारी गरेका थिए ।

मेयर बालेन आक्राेशित

आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकमा एमाले र कांग्रेसका जनप्रतिनिधिहरुले बहिस्कार गरेपछि मेयर शाह आक्रोशित भएका छन् ।

मेयर शाहले न्यूरोडलाई नो भेइकल जोन बनाउने प्रस्ताव मेयर शाहले नगरसभामा पारित गराउन खोजेको भन्दै असन्तुष्ट केही कार्यपालिका सदस्यहरुले बैठक बहिस्कार गरेका हुन् ।

त्यही बिषयलाई लिएर मेयर शाहले ३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको बताएका छन् ।

काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा नहुने बताउँदै उनले जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुने बताए ।

‘यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताकारुपमा रहँदैन । १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ । बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चै त्यसको औपचारिकता मात्रै दिने काम काठमाण्डौ महानगर पालिकाले गर्दैन ।’

काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्