काठमाडौंका पेट्रोल पम्प बन्द

Share:

काठमाडौं । ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ।

थानकोटबाट आउने पेट्रोल ट्यांकर व्यवसायीहरूले रोकेसँगै उपत्यकामा पेट्रोलको अभाव भएको हो।

शनिबारदेखि नै ट्यांकर चालकले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। यसै कारण पेट्रोलियम पदार्थ अभाव देखिएको हो।

चालकहरूले पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर नचलाएका कारण पेट्रोलियम पदार्थ पम्पहरूसम्म पुग्न सकेको छैन।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सातबुँदे माग राख्दै शनिबारदेखि आन्दोलन थालेको हो।

संघले एक विज्ञप्ति जारी गर्दै शनिबार कालोपट्टि बाँधेर, आइतबार गाडीमा कालो झन्डा राखेर र सोमबार पूर्ण रूपमा काम छाडेर ट्यांकरको साँचो नै सवारीधनीलाई हस्तान्तरण गरेर विरोध गर्ने जनाएको छ।

आफूहरूले लामो समयदेखि अत्यावश्यक सेवासुविधा बिनै लामो समयदेखि नेपाल आयल निगममा काम गरेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले केही दिनअघि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर चालक र सहचालकहरूलाई मासिक तलब तोकेर मजदुरहरूको खातामा पठाउने व्यवस्था गर्न माग गरेको थियाे ।

सङ्गठनले श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउनुपर्ने लगायत १२ बुँदे माग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई बुझाएको थियाे। नेपाल आयल निगम लिमिटेडले चालक र सहचालकहरूलाई अहिलेसम्म तलबविना काम गराएर श्रम शोषण गरेको भन्दै सङ्गठनले चालक तथा सहचालकहरुको श्रम ऐन २०७४ अनुसारका सेवा सुविधाहरू लागू गर्न समेत माग गरेको थियाे ।

पेट्रोलियम ट्याङकरमा लकिङ सिस्टम सुरु भएपछि पनि इन्धन घट्बढ् हुँदा चालकलाई डबल जरिवाना गराउने निगमको गलत कार्य तत्काल बन्द गर्दै टेम्प्रेचर वर्किङ्गलस मजदुरलाई दिने व्यवस्था गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख थियाे । टेम्प्रेचर वर्किङ्गलस भनेकाे आइएलाेका अनुसार २४ देखि २६ डिग्री सेन्ट्रिगेटभन्दा माथि तापक्रम हुँदा काम गर्न सक्ने क्षमतामा कमी आउने बताइन्छ । त्यसकाे आधारमा चालकलाई सुविधा दिनुपर्ने माग गरिएकाे छ ।

भारतबाट ढुवानी गरिने पेट्रोलियम पदार्थमा ५० लिटर कम भएमा ट्याङ्कर चालकलाई त्यसको दोब्बर जरिवाना गराउने नेपाल आयल निगम लिमिटेडको गलत नीति तत्काल सच्याउन माग गरिएको छ । निगमले पेट्राेल बाटाेमै चाेरी भएकाे थाहा पाएपछि केही वर्ष अघि लकिङ्ग सिस्टम ल्याएकाे थियाे ।

कमेन्ट गर्नुहोस्