पालुङटार नगरकाे गज्जब नीति: बाँदर नियन्त्रण गर्न जंगलमा राेपिने भयाे फलफूल

Share:

गाेरखा । पालुङटार नगरपालिकाले आउँदाे आर्थिक बर्ष २०८१/८२ मा सञ्चालन गरिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

सोमबार १५ औं नगरसभामा नगर प्रमुख विवस चिन्तनले आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा पालुङटारले केही उदाहरणीय याेजनाहरू सार्वजनिक गरेकाे छ । नगरसभाले प्लाष्टिकमुक्त नगरपालिका बनाउन पहल थाल्ने याेजना अघि सारेकाे छ ।

त्यस्तै छुवाछुतमुक्त पालिका बनाउने, ‘स्मार्ट सिटीको अवधारणा थप अगाडि बढाउने, महिलामैत्री नगर बनाउन बिशेष पहल गरिने, टेलिफोन टावर, केवल लाईन र होर्डिङ बोर्डमा कर लगाउने, रिङरोड, बसपार्क र रंगशालालाई पूर्णता पालुङटारका केहट्ठ याेजनाहरू हुन् ।

कृषि तथा पशुपंक्षी बिकासतर्फ ‘बनको बाँदर बनैमा’ भन्ने नाराका साथ बाँदर, दुम्सी, मृगलगायतका वन्यजन्तुबाट बालीनालीलाई संरक्षण गर्न वन क्षेत्रमै फलफूल लगाउने याेजना पनि नगरले ल्याएकाे छ । बाँदरको प्रकोप बढी भएको क्षेत्रमा बाँदरले नष्ट नगर्ने खुर्सानी, अदुवा, बेसार, जौ, टिमुर, कटहर, कागती जस्ता बालीको खेती गर्न प्रोत्साहन गर्ने नगरपालिकाको योजना छ । जंगलमा फलफूलका बिरुवा रोप्ने कार्यलाई अभियानको रुपमा संचालन गरिने पालिकाले जनाएको छ ।

बाँझो जमिन खेतीका लागि प्रोत्साहन दिइने, नगर प्रमुखसँग लोक कल्याणकारी किसान कोषमार्फत उत्पादनमा आधारित अनुदान दिइने केही उदाहरणीय याेजना अघि सारेकाे पालुङटारले काम भने कसरी गर्छ भन्ने हेर्न बाँकी रहेकाे छ । उत्पादित कृषि उपजहरुको बजारीकरण तथा भण्डारणका लागि सुविधा सम्पन्न कोल्ड स्टोर, दुग्ध संकलन केन्द्र संचालन गर्ने र दाना उद्योगलाई आवश्यक पर्ने मकै, भटमास लगायतका खेतीलाई प्रोत्साहन गर्ने नगरपालिकाले जनाएकाे छ ।

‘इन्भेष्ट इन पालुङटार’ अभियान संचालन गर्ने, बैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यवसाय संचालन गर्न चाहने यूवा उद्यमी व्यवसायीलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने, नगरभित्र रहेका धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रचार प्रसार हुने गरी एकीकृत कार्यक्रम संचालन गर्ने, कुमाल, गन्धर्व, र दलित लगायतका सीमान्तकृत जातीहरुका साथै विपन्न वर्गहरुको लागि बिशेष कार्यक्रम संचालन गर्ने पालिकाकाे नयाँ नीति तथा कार्यक्रम छ ।

त्यस्तै सामुदायिक बिद्यालयहरुलाई आवश्यकताको आधारमा स्कुल बस संचालनको व्यवस्था मिलाउने, प्राविधिक धार संचालन भएका बिद्यालयहरुलाई बिशेष अनुदानको व्यवस्था गर्ने र साथीबाट सिक्ने र साथीलाई सिकाउने (सहपाठी सिकाई) कार्यक्रमलाई व्यवस्थित रुपमा संचालन गर्ने पालिकाले जनाएको छ । बिद्यालयमा अतिरिक्त क्रियाकलापलाई व्यवस्थित गर्न झोला बिहीन शुक्रबार कार्यक्रम कार्यान्वयन गरिने पालिकाले जनाएकाे छ ।

स्वास्थ्य तर्फ गर्भवती महिलालाई प्रसूतीका लागि नगरपालिकाभित्रका अस्पताल तथा वर्थिङ सेन्टरसम्म पुग्न निशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिने कार्यक्रम नगरपालिकाले ल्याएको छ । नगरभित्र मृत्यु भएका मृतकको शव व्यवस्थापनका लागि निशुल्क शव वाहनको व्यवस्था गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्