पञ्चदेवल विनायकमा छाउगोठमै बलात्कृत भइन किशोरी, नगरप्रमुखले भत्काइन् छाउगोठ

Share:

आछाम । पञ्चदेवल विनायक नगरपालिकामा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छिन् । १६ वर्षीया किशोरी सोमबार राति सामूहिक बलात्कृत भएको प्रहरीले जनाएको छ ।

किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिकामा मामा घरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी थिइन् । उनी ११ वर्षदेखि मामा घरमै बस्दै आएकी थिइन ।

उनलाई अचेत अवस्थामा देखेपछि मङ्गलबार बिहान स्थानीय एक जना किशोरीले प्रहरीलाई खबर गरेकी थिइन । स्थानीय किशोरीले जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेलगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो ।

अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको थियो ।

अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि बलात्कार भएको प्रहरीलाई जानकारी दिइन् । उनले स्थानीय १७ वर्षीय किशोर लगायत ३÷४ जनाले बलात्कार गरेको बताएकी थिइन ।

आँखा र घाँटीमा कपडाले बाँधेकाले अन्य व्यक्तिलाई आफूले चिन्न नसकेको पीडित किशोरीको भनाई छ ।

अछाम प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले किशोरी बलात्कृत भएको पुष्टि गरे । उनीसहितको टोलीले मङ्गलबार बेलुकी घटनास्थल पुगेर घटनाबारे थप जानकारी लिएको थियो ।

मङ्गलबार बिहान उनको उद्धारमा गएकी नगरप्रमुख अम्बिका चलाउनेसहितको टोलीले छाउगोठ भत्काएको छ । उनलाई अचेत अवस्थासम्म गोठमै राखिएको भन्दै नगरप्रमुख चलाउनेले गोठ भत्काएकी हुन् । किशोरी होसमा नआउन्जेलसम्म उनी बिरामी भएको भन्दै उद्धार गरिएको थियो ।

पञ्चदेवल विनायक नगरपालिकाको साविक ४ नम्बर वडाको रिठे तोलामा यो घटना घटेको थियो।

घटनाको थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख सन्तोष पाठकले बताए। घटनामा संलग्न रहेको आशंकामा एकजना पक्राउ गरिएको प्रहरीले जानकारी दियो ।

कमेन्ट गर्नुहोस्