सदस्यको बचत रकम फिर्ताको टुंगो छैन, रोजगार मेला सुरु गर्दै राष्ट्रिय सहकारी महासंघ

Share:

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संघ, संस्थाहरूमा दक्ष जनशक्ति प्राप्त गर्न सहकारी मेला आयोजना गर्न लागेको जानकारी दिएको छ ।

बुधबार महासंघको कार्यालयमा भएको पत्रकार सम्मेलनमा देशभरका कतिपय सहकारीमा दक्ष जनशक्तिको अभाव भइरहेकाले सहकारी लक्षित रोजगार मेला आयोजना गर्न लागिएको महासंघकी अध्यक्ष ओमदेवी मल्लले जानकारी दिइन् ।

कतिपय सहकारी संस्थामा सदस्यहरूले गरेको बचत फिर्ताको टुंगो नभएको बेला राष्ट्रिय सहकारी महासंघ भने सहकारी लक्षित रोजगार मेलाको आयोजनामा केन्द्रित भएको छ । सहकारीमा दक्ष जनशक्तिको अभाव भएकाले सहकारीले पनि रोजगार मेला आयोजना गर्न लागेको महासंघकी अध्यक्ष मल्लले जानकारी दिइन् । उनले भनिन्, ‘सहकारी क्षेत्र भनेको बिरोधमा उत्रिएका केही संस्था मात्रै हुन् भनेर बुझिदिनु भएन । सहकारी क्षेत्र ब्यापक छ । धेरै सहकारी संस्थाहरुमा अहिले पनि दक्ष जनशक्तिको अभाव छ ।’

उनले नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापा, मेची बहुउद्देश्यीय सहकारी संस्था झापा लगायतको नाम लिएर सहकारी क्षेत्रमा राम्रा सहकारी पनि रहेकाले यो क्षेत्रमा पनि रोजगारीको प¥याप्त अवसर रहेको दाबी गरिन् । सहकारी लक्षित रोजगारी मेला राष्ट्रिय सहकारी महासंघ लिमिटेडको कार्यालय पुल्चोकमा असार ७, ८ र ९ गते सञ्चालन हुनेछ । मेलामा ५ हजारले अवलोकन गर्ने दाबी गरिएको छ ।

समग्र सहकारी संस्थाहरुको विषयमा देशभर आन्दोलन भइरहेको अहिलेको अवस्थामा सहकारी क्षेत्रले आयोजना गर्ने यो मेलामा कस्तो आकर्षण होला भन्ने कौतुहलता हेर्न बाँकी नै छ । तर सहकारी संस्थाहरुबाट बचतकर्ताले बचत समेत फिर्ता पाउन नसकेको अहिलेको अवस्थामा सहकारीप्रति युवा वर्गको भने विकर्षण मात्रै देखिन्छ ।

महासंघले पनि मन्त्रालयको देखासिकी गरेर रोजगार मेला आयोजना गरेको भन्दै आलोचना भएको छ । सहकारी क्षेत्र नै अस्तव्यस्त भएको अहिलेको अवस्थामा सहकारी क्षेत्रका समस्या समाधान नभएसम्म सहकारी लक्षित रोजगारी आकर्षणमा भने केही कहिनाई हुने आंकलन पनि छ ।

महासंघले पनि सहकारी समस्याको टुंगो लगाएर मात्रै मेला आयोजना गरेको भए फलदायी हुने देखिन्छ । तर श्रम मन्त्रालयकाे सिकाे गर्दै महासंघले राेजगारी मेला आयाेजना गरेकाे छ । यसले श्रम व्यवस्थापनकाे अभियानमा टेवा पुर्याए पिन महासंघ सहकारी समस्यामै बढी केन्द्रित हुनुपर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्