
काठमाडाैं । आन्दोलनरत संघीय संसदका कर्मचारीहरुको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा समिति गठन गरेको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो । समितिमा अर्थ मन्त्रालयका सचिव र संघीय संसदका महासचिव सदस्य छन् ।
सङ्घीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूबीच बैठक चलेकाे थियाे । प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बिहान साढे ८ बजेदेखि सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी थिए ।
बैठकमा मुख्य सचिव डा. बैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित छन् । सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल समेत गरिरहेका छन् ।
संसद बैठकमा कर्मचारीहहरूले विराेध गरेका कारण बैठक सञ्चालन गर्न सभामुखलाई कठिन परेकाे छ ।