काठमाडाैं । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषिको क्षेत्रमा उल्लेख्य सुधार ल्याएकाे दाबी गरेकी छिन् ।
बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित मन्त्री साहले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको मन्त्रीको रुपमा आफ्नो जिम्मेवारी सम्हालेसँगै कृषि क्षेत्रको समस्या सुधारका लागि सक्रियतापूर्वक लागिरहेकाे दाबी गरिन्। मन्त्री साहले दूधको भुक्तानी पाउन बाँकी किसानहरुको समस्यालाई गम्भीरतापूर्वक लिएर समाधानको प्रयत्न गरेकाे र केही समाधान भएकाे दाबी गरिन् ।
खेतीको सिजनमा प्रत्येक वर्ष रासायनिक मल अभाव हुने गरेकोमा यस वर्ष भने रासायनिक मल अभाव नहुने मन्त्रीकाे दाबी छ । चालु आर्थिक वर्षमा मलको अभाव नहुने र आगामी आर्थिक वर्षको सुरुवातबाट नै रासायनिक मलको अभाव हुन नदिने प्रतिनिधिसभा बैठकदेखि विभिन्न सार्वजनिक कार्यक्रमहरुमा मन्त्री साहले दाबी गर्दै आएकी छिन् ।
यस वर्ष रासायनिक मलको माग गर्दै किसानहरु सडकमा आएको दृश्य देखिएको छैन । मन्त्री साहले ९६ हजार मेट्रिक टन रासायनिक मल अहिले मौज्दुत रहेको जानकारी गराएकी छिन् । थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने पनि उनले जानकारी दिइन् ।
आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन भएको छ । आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेन्डर आव्हान भइसकेको र सो मध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको छ ।
मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्रमा ४० वटाभन्दा बढी कृषिका योजनाहरु पारेकी छिन् । गुरु किसान छनौट तथा नमूना फार्म स्थापना सहयोग कार्यक्रम, नयाँ तरकारी पकेट विकास कार्यक्रम सञ्चालन, हरित विद्यालय कार्यक्रम, कोल्ड च्याम्बर निर्माण, कृषि बजार पूर्वाधार निर्माण, साना सिँचाइ कार्यक्रम, उन्नत बीउ वितरकलाई प्रोत्साहन अनुदान, खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदानलगायतका विभिन्न शीर्षकहरुमा किसानका लागि करोडौँ रुपैयाँ आफ्नो मन्त्रालयबाट मन्त्रीले निर्वाचन क्षेत्रमा छुट्याउन सफल भएकी छिन् ।
त्यसैगरी भैँसी तथा बाख्रा नश्ल सुधार अनुसन्धान इकाई स्थापना, रेबिज नियन्त्रण कार्यक्रम, आधारभुत प्रयोगशाला कार्यक्रम, डेरी प्रवद्र्धन कार्यक्रमलगायतका कार्यक्रमहरुमा पनि बजेट व्यवस्था गरिएको छ । यसरी आफ्नो क्षेत्रका हजारौँ किसानहरुलाई लाभान्वित गराउन मन्त्री साह सफल भएकी छिन्।
पटक–पटक मन्त्री भइसकेकी साहले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका काममा पनि सक्रिय रूपमा ध्यान दिएकी छिन् । आर्थिक वर्ष २०८१/०८२ को बजेटमा बारा क्षेत्र नं. ३ मा विकास निर्माणको काममा पनि निकै नै बजेट छुट्टीएको छ । साहकाे निर्वाचन क्षेत्रमा खानेपानीको योजना मात्रै १९ वटा परेका छन् । कलैया उपमहानगरपालिका, फेटा गाउँपालिका, जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न वडाहरुमा खानेपानीको आयोजनाका लागि बजेट छुट्याउन साह सफल भएकी छिन् । त्यस्तै सो निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा रहेका खानेपानी आयोजनाहरुमा पनि बजेट विनियोजन भएको छ ।
त्यसैगरी फतेपुरदेखि अमाटारसम्म जोड्ने बाटो कालोपत्रे, कवलपुरदेखि सोनरियासम्म जोड्ने बाटो कालोपत्रे, मटिर्वादेखि निलकण्ठवा जाने बाटो पिच र नाला निर्माण, कलैया उपमनपा ०६ वडा कार्यालयदेखि पर्सा गाउँ जाने पिच र नाला निर्माणका लागि पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट विनियोजन भएको छ । त्यस्तै गण्डक नहरदेखि दक्षिण बजार पिपलचोक भई पूर्व जाने नहरीसम्म पर्सा गाउँ जाने पिच र नाला निर्माण र सिमरा कोल्बी कालोपत्रे सडक निर्माणमा पनि साहको पहलमा बजेट विनियोजन भएको छ ।
मन्त्री साहले आर्थिक वर्ष २०८१/०८२ मा कलैया उपमनपा वडा नं. १५, १६ र २१ मा गरिब तथा अति विपन्न परिवारलाई सुरक्षित आवास निर्माणका लागि बजेट विनियोजन गराउन सफल भएकी छिन् । जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १५ मा कल्भर्ट निर्माण, वडा नं. १३ मा पक्की सिँचाई कुलो निर्माणका लागि पनि बजेट छुट्टयाइएको छ । जितपुर सिमरा उपमनपा १५ मा नयाँ बस्ती खापसी खोला संरक्षणका लागि पनि बजेटको व्यवस्था गरिएको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १४ मा शहिद पार्क निर्माणका लागि पनि बजेट विनियोजन भएको छ ।
त्यसैगरी बारा क्षेत्र नं. ३ अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ११०३ वटा घरपरिवारका लागि बजेटको व्यवस्थापन गरिएको छ । सघन शहरी विकास कार्यक्रम अन्तर्गत जीतपुर सिमरा नगरपालिकामा एकीकृत शहरी पूर्वाधार विकास कार्य, कलैया उमनपामा सघन शहरी विकास कार्यक्रम अन्तर्गत एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम र कलैया उमनपा वडा नं. १४ भवरा मोडदेखि भवरा बजारसम्मको बाटो निर्माणलगायत अन्य दर्जनौँ आयोजनाहरुका लागि बजेट विनियोजन भएको छ ।
मन्त्री साहले कलैया उपमहानगरपालिका, फेटा गाउँपालिका र जितपुर सिमरा उपमहानगरपालिकाका विभिन्न स्थानहरुमा सिँचाई आयोजनाका लागि आर्थिक वर्ष २०८१/०८२ मा बजेट विनियोजन गरेकी छिन् ।
बजेट विनियोजन गर्दा आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित नभई बारा जिल्लाका अन्य क्षेत्रहरुमा पनि माथि उल्लेख गरिएका सबै शीर्षकका बजेट विनियोजन गरेकाे मन्त्री साहकाे दाबी छ ।