बागमती गाउँपालिका: अध्यक्ष नीति र कार्यक्रम पढ्ने, उपाध्यक्ष काटोपट्टी बाँधेर जुलुस लगाउने

Share:

मकवानपुर । बागमती गाउँपालिकामा बजेट ल्याउन बसेकाे बैठकमा अनाैठाे दृश्य देखिएकाे छ । बैठकमा पालिका अध्यक्षले कार्यक्रम सञ्चालन गर्दै नीति तथा कार्यक्रम पढेर सुनाउँदा उपाध्यक्ष भने कालाेपट्टी बाँधेर बिराेधकाे नारा लगाइरहेकी थिइन् । यसरी बिराेध बढेपछि पालिकाकाे बजेट पारित गर्ने बैठक स्थगित भएकाे छ ।

जनप्रतिनिधिबीच विवाद भएपछि बजेट सार्वजनिक गर्न बसेको सभाको बैठक अन्योलमा परेको हाे । गाउँपालिकाको नीति तथा कार्यक्रममा अध्यक्ष सर्केश घलानले एकलौटी गरेको भन्दै कांग्रेस र एमालेका जनप्रतिनिधिहरुले बैठक बहिष्कार नै गरे  ।

उपाध्यक्षसहितका जनप्रतिनिधिको बहिष्कारकाबीच अध्यक्ष घलानले नीति तथा कार्यक्रम पेश गरेर पारित गर्न सफल भएका छन् । तर उपाध्यक्षले पेश गर्नुपर्ने बजेट भने पेश हुने अवस्था नभएपछि  पालिकाकाे बजेट भने अनिश्चित बनेको छ ।

प्रवक्तासमेत रहेका वडा नम्बर ३ का अध्यक्ष कमानसिंह पाख्रिनले उपाध्यक्षले योजना तर्जुमाको बैठकसमेत नबोलाएर दलीय आधारमा गुटवन्दी गरेको आरोप लगाएपनि बहिष्कार गर्ने जनप्रतिनिधिले भने अध्यक्षले मनोमानी गरेको आरोप लगाएका छन् ।

नीति तथा कार्यक्रम बाचन भइरहदा उपाध्यक्षको नेतृत्वमा जनप्रतिनिधिहरुले सभास्थल बाहिर नाराबाजी गरेका थिए। उपाध्यक्षसमेत फणिन्द्र तिमल्सिना, वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर डिमडुङ, वडा नम्बर ७ का अध्यक्ष उत्तरबहादुर भोलन, वडा नम्बर ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना, वडा नम्बर ९ का अध्यक्ष पूर्णराम घलान र कार्यपालिका सदस्य डम्बरबहादुर विकलगायतले गाउँसभा बहिष्कार गरेका हुन्।

टाउकोमा कालोपट्टी बाँधेर गाउँपालिका कार्यालय अगाडि नाराबाजी गर्दै गाउँसभा बहिष्कार गरेपछि बैठक अनिश्चित बनेको हो । अध्यक्ष नेकपा माओवादी निकट हुन् । उनले नीति तथा कार्यक्रम बनाउँदा एकलौटी गरेको अन्य दलबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले लगाएका छन् । उनीहरुले पत्रकार सम्मेलनमार्फत उक्त आराेप लगाएका हुन् ।

उनीहरुले प्रत्येक वडामा सिलिङ बजेटको व्यवस्थापन गर्नुपर्ने, उपाध्यक्ष र वडाध्यक्षको हक अधिकारमा हस्तक्षेप गर्न नहुने, गाउँपालिकाले करार कर्मचारी नियुक्ति गर्दा प्रदेश र संघको बजेट प्रयोग गर्न नपाउने, यदि करार कर्मचारी नियुक्ति गरेमा आन्तरिक स्रोतबाट तलबभत्ता दिनेगरी नियुक्त गर्नुपर्नेलगायत माग राखेका छन् ।

तर अध्यक्ष घलानले भने गाउँसभामा बहुमत भएकाे भन्दै उपाध्यक्षलगायतकाे कुराहरू सुनेका छैनन् ।

कमेन्ट गर्नुहोस्