मकवानपुर । बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ९१ करोड ९५ लाख ६२ हजार ५ सय रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार भएको दशौँ गाउँसभामा पालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।
पालिकाले चालू आर्थिक वर्षकोभन्दा १० करोड बढी रकमको बजेट ल्याएको छ । पालिकाले चालू आर्थिक वर्षमा ८१ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
पालिकालाई आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट सशर्त अनुदानतर्फ ३४ करोड ६४ लाख रुपैयाँ, बागमती प्रदेश सरकारले सशर्त अनुदानतर्फ ३ करोड ९ लाख रुपैयाँ उपलब्ध भएको छ । यस्तै संघीय सरकारबाट समपुरक अनुदानबापत २ करोड ८५ लाख, प्रदेश सरकारबाट १ करोड ९७ लाख रुपैयाँ उपलब्ध भएको छ ।
पालिकाले हरेक वडाको समानुपातिक विकास गर्न प्रत्येक वडालाई ६५ लाखका दरले बजेट विनियोजन गरेको छ । पालिकाले चालू आर्थिक वर्षमा सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका योजनाहरुलाई सम्पन्न गर्न ३ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।
कृषि तथा पशुजन्य उत्पादनलाई प्रवर्द्धन गर्न, सहुलियत दरमा दाना तथा साइलेज विक्री वितरण गर्न तथा प्राङगरिक मल उत्पादन गर्न बकैया कृषि औद्योगिक ग्रामको संचालन गर्न १ करोड रुपैयाँ विनियोजन गरेको छ ।