सुनसरी। धरान उपमहानगरपालिकाको नगरसभा हुन नसकेपछि राेकिएकाे नीति तथा कार्यक्रम र बजेट आउने विषयमा अझै अन्याैलता रहेकाे छ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि धरानको बजेट सार्वजनिक गर्न सोमबार सैनिक भवनमा मञ्च तयार गरिएको थियो। तर बजेट ल्याउने कुरामा सहमति नभएपछि नगरसभा बस्न सकेन।
बजेट तर्जुमा समितिका संयोजक नगर उपप्रमुख आइन्द्र विक्रम बेघाले बजेटका लागि रकमको निर्क्याैल हुन नसक्दा बजेट रोकिएको बताए ।
नगरप्रमुख हर्क साम्पाङले बजेट प्रक्रिया नपुर्याइकन सार्वजनिक गर्न एकलौटी ढंगबाट अघि बढ्दा विवाद भएका उपप्रमुख बेघाले बताए।
उपप्रमुख बेघाले बजेटमा अंक नतोकिएको, बजेटको ब्रेकडाउन हुन नसकेको, बजेटबारे नीति तथा कार्यक्रममा छलफलसमेत नभएको हुँदा समस्या उत्पन्न भएको जानकारी दिए।
उनले भने, ‘सोमबार सार्वजनिक हुनुपर्ने बजेट मेयरसाबका कारण रोकिएको छ। अब उहाँले कहिले बजेट ल्याउनुहुनेछ, त्यहीबेला आउनेछ।’
अर्कोतर्फ, नगरप्रमुख साम्पाङले बजेट नआउनुको सबै दोष प्रमुखलाई देखाएर अरूले उम्कन नमिल्ने बताए। बजेटका लागि छलफल गर्न पटक पटक बैठक बोलाउँदा उपस्थिति नभएपछि समस्या आएको नगरप्रमुख साम्पाङको भनाइ छ।
उनले नियोजित रूपमा नगरसभा नगरिएको बताए। नगरप्रमुख साम्पाङले कार्यपालिका बैठकमा भएको सहमतिअनुसार नै निर्णय सच्याएर माइन्यूट लेख्दा पनि नगरसभा बहिष्कार आरोप लगाए। उनले उपमहानगरपालिकाको बजेट ल्याउनपूर्व नीति तथा कार्यक्रमनै पूर्णरूपमा छलफल नगरिएको पनि बताए।