
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम खुलाएको छ ।
महानगरले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि २०८० साल चैत्रमा एसईई परीक्षा दिएका विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम निःशुल्क खुलाएको हो ।
महानगरले अघिल्लो वर्षपनि कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति दिलाएको थियो ।
काठमाडौं महानगरपालिका भित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८१/०८२ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न सञ्चालन हुने परीक्षाका लागि एसईईमा सफल भएका विद्यार्थीहरूले आषाढ १७ गते बिहान १० बजेदेखि आषाढ २९ गते राति ११:५९ बजेसम्म महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम दिन सकिन्छ ।
शिक्षा, विज्ञान, कानुन, व्यवस्थापन र मानविकीविषयसँग सम्बन्धी परीक्षा श्रावण ४ गते बिहानको ०८ बजेदेखि १० बजेसम्म हुनेछ ।
आवेदन दिन एसईईमा न्यूनतम १.६ जीपीए ल्याई पूरा गरेको हुनुपर्ने छ। सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईईपूरा गरेको हुनुपर्ने छ। तर काठमाडौं महानगरपालिकाको स्थाइ बासिन्दा, ल्यान्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थाइ वासिन्दा र ५ प्रतिशत सिटको हकमा सस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीहरु पनि छात्रावृत्तीमा समावेश हुन पाउने छन्।
यस्तै आवेदन दिन काठमाडौं महानगरपालिकाको स्थायी बासिन्दाको हकमा जन्म दर्ता वा नागरिकता वा बसाइसराइको पत्र पेस गर्नु पर्नेछ।