अब बाढीपहिरो, आगलागी, चट्याङपीडितले पनि अस्थायी आवास बनाउन सरकारी अनुदान पाउने  

Share:

काठमाडाैं । सरकारले भूकम्प पीडितका लागि अस्थायी आवास बनाउन दिने राहत रकम बराबरकाे पैसा अब बाढीपहिरो, आगलागी, चट्याङबाट घर गुमाएका पीडितले पनि पाउने भएका छन् ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको सोमबारको २४औँ बैठकले ‘विपत्‍बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ स्वीकृत गरेसँगै बाढीपहिरो, आगलागी, चट्याङबाट घर गुमाएका पीडितका लागि अस्थायी आवास बनाउन अनुदान उपलब्ध गराउने बाटो खुलेको हो ।

विपत् प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार यसअघि भूकम्पपीडितलाई अस्थायी आवासका लागि दुई किस्तामा ५० हजार रुपैयाँ उपलब्ध गराए पनि मनसुनजन्य विपत्का हकमा यस्ताे कुनै प्रावधान थिएन । यसअघि भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० स्वीकृत गरेर जाजरकोट, डोटी र बझाङ भूकम्पपीडितलाई अनुदान निकासा गरिएको थियो । तर, बाढीपहिरो, चट्याङ, आगलागीलगायत विपत् समेटिएको थिएन ।

अस्थायी आवासका लागि विपत् प्राधिकरणले जिल्लास्थिति विपत् व्यवस्थापन समितिमा रकम निकासा गर्नेछ । पालिकाले अस्थायी आवासका लागि लाभग्राहीसँग सम्झौता गरेपछि जिल्लास्थित विपत् व्यवस्थापन समितिले अनुदानको पहिलो किस्ताबापत प्रतिपरिवार २५ हजार रुपैयाँका दरले निकासा गर्छ । स्थानीय विपत् समितिमा निकासा भएको अनुदान लाभग्राहीको खातामा जम्मा हुन्छ । दोस्रो किस्ताबापतको थप २५ हजार रुपैयाँ भने घरको छानो हाल्ने तहसम्म पुगेपछि वा निर्माण सकिएपछि मात्र पाइनेछ ।

कमेन्ट गर्नुहोस्