कार्यालय सहयाेगी हुँदै जनप्रतिनिधि बनेका राप्तीका वडा अध्यक्ष पैसा कमाउन उडे बेलायत

Share:

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ विदेश पलायन भएका छन्।

वडा सदस्यलाई कार्यवाहक दिएर गुरूङ बेलायत गएकाे गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पुष्टि गरे । वडाध्यक्ष गुरूङ पदबाट राजीनामा नै नदिई विदेश गएको अध्यक्ष विष्ट बताउँछन्।

पालिका अध्यक्षले वडा अध्यक्ष विदेश जान लागेकाे हल्ला सुनेपछि त्यसबारे पालिकामै वडा अध्यक्ष गुरुङसँग जिज्ञासा राखेका थिए । वडाध्यक्षले ऋण लागेकोले घरव्यवहार मिलाउन केही समय बेलायत जाने तयारीमा रहेकाे पालसका अध्यक्षलाई जानकारी गराएका थिए।

वडा सचिव असलेखकुमार चौधरीका अनुसार वडाध्यक्ष गुरूङले गत साउन १६ गते वडा सदस्य चम्फा पुनलाई कार्यवाहक तोकेको चिठी दिएर विदेश गएकाे जानकारी गराए । वडा सदस्यलाई साउन १७ देखि लागू हुने गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएकाे र अध्यक्ष विदेशबाट नआउञ्जेलका लागि काम गर्न जिम्मेवारी ताेकिएकाे कार्यबहाक वडा अध्यक्ष पुनले जानकारी दिइन ।

वडा सचिव चौधरीकाअनुसार वडाध्यक्ष गुरूङ साउन २० मा बेलायतका लागि उडेका  थिए। उनले आफू बेलायत पुगिसकेको जानकारी पनि दिइसकेका छन्। वडाध्यक्ष गुरूङले कति समय बेलायत बस्ने भन्ने कुरा खुलाएका छैनन्।

वडाध्यक्ष गुरूङका परिवारका सदस्यहरूले धेरै ऋण लागेको कारण विदेश जानुपरेको कुरा गर्ने गरेका छन्। आमाको उपचार गर्दा, २०७९ को स्थानीय चुनावमा उठ्दा र सन्तानलाई शिक्षादीक्षा दिँदा ऋण लागेको वडाध्यक्षको परिवारका सदस्यहरूको दाबी छ।

करिब ५० लाख ऋण लागेको परिवा् स्राेतकाे दाबी छ । उक्त ऋण तिर्ने स्राेत नभएकाले विदेश जानु बाध्यता रहेकाे परिवारीक तर्क छ । वडाध्यक्ष गुरूङका दुई छोरा छन्। उनीहरू विद्यालय तहमै  पढ्छन्।

वडाध्यक्ष गुरूङका बुबा निमबहादुर बेलायतका निवृत्त सेना थिए। उनको १७ वर्षअघि नै प्यूठानमा मृत्यु भइसक्यो। निमबहादुरको मृत्युपछि उनकी श्रीमती बालिकादेवीका नाममा पेन्सन पनि आउने गर्थ्यो। तर उनको गत वर्ष निधन भएको थियो।

स्रोतका अनुसार बेलायतका निवृत्त सेनाका सन्तानले रोजगारीका लागि निवेदन दिन सक्छन्। सोहीआधारमा वडाध्यक्ष गुरूङले पनि रोजगारीको लागि भन्दै निवेदन दिएका थिए।

वडाध्यक्ष हुनुअघि गुरूङ कार्यालय सहयोगी थिए। नेकपा (एमाले) बाट तत्कालीन वडाध्यक्ष रहेका गोकर्णबहादुर रानाले उनलाई आफ्नो कार्यालयमा सहयोगीका रूपमा राखेका थिए। कार्यालय सहयोगी गुरूङ २०७९ को चुनावमा एमालेबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका थिए।

कमेन्ट गर्नुहोस्