काठमाडाैं । सिल गरेको प्रशोधित पानीको बोतल खोली गिलासमा खन्याएर पिउन थालेपछि काठमाडाैं महानगर वडा नं. ११ की वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्बलाएको देखिन् ।
कार्यक्रममा उपस्थित महानगरकी उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो । अनुगमन समितिकी संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारवाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर कार्यक्रम स्थलबाट निस्किइन् । त्यसपछि कार्यक्रम रोकियाे । याे घटना गएको शुक्रबार अनामनगरकाे चर्चित किम्ची फाष्टफुड रेष्टुरेन्टको हलमा भएकाे थियाे ।
महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखिकरण गर्न किम्चीलाई कार्यक्रम स्थल बनाएकाे थियाे । महानगरले प्राय: कार्यक्रम राष्ट्रिय सभा गृहमा आयाेजना गर्ने गरेकाे थियाे ।
सभा गृहमा भवन मर्मतकाे काम भइरहेकाले महानगरले अनामनगरकाे किम्चीमा कार्यक्रम आयाेजना गरेकाे थियाे । तर अचम्म स्वास्थ्य तथा खाद्य क्षेत्रमा कडा अनुगमन गर्दै आएकाे काठमाण्डाै महानगरले आफ्नै कार्यक्रममा पनि किरा परेकाे पानी बाँडेकाे भेटेकाे थियाे । अझ वडा सदस्यले नै पानीका किरा परेकाे भेट्टाएकी हुन् ।
‘पानीजन्य संक्रमणकाे जोखिम रहेको अवस्थामा सिल बोतलभित्र अखाद्य बस्तु देखिनु चरम लापर्वाही हो । महानगरपालिकाले खानेकुरा तथा पिउने पानीको स्वच्छतामा लापर्वाही नगर्न व्यवसायीहरुलाई अनुरोध गर्दै आएको छ’, किरा भेटिएकाे गएकाे शुक्रबारकाे दिन संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रमुख डंगोलले भनेकी थिइन्, ‘अनुरोधलाई अटेर गर्नेहरुलाई कानुनी कारवाही गर्नुको विकल्प छैन ।’
पानीका किरा भेटिएपछि महानगरकाे अनुगमन टोली पुगेर रेष्टुरेन्टबाट नमूना संकलन गरेको थियो । यति प्रक्रिया सकिँदा कार्यालय समय समेत सकिएकाले त्यस दिन कारवाहीको निर्णय हुन सकेन । त्यही घटनाकाे कारबाही आज आइतबार महानगरले ताेकेकाे हाे । महानगरले किम्चीलाई दुषित पानी बिक्री गरेकाे कसुरमा २ लाख रुपैयाँ जरिवाना ताेकेकाे छ ।
रेष्टुरेन्टबाट बिक्री भइरहेको पानी काठमाडौँको टोखा नगरपालिका वडा नंं ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रा. लि. ले उत्पादन गरेको ‘इको’ ब्राण्डको पानी हो ।
खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यस अघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई समेत २ पटक जरिवाना तिराएको थियो ।