धरानकाकाे विवाद मिल्याे: मेयर हर्क लचकदार भएपछि मध्यरातमा भयाे ३ बुँदे सहमति

Share:

सुनसरी । धरान उपमहानगरपालिकामा देखिएको खानेपानी महसुल वृद्धिको विवाद मिलेकाे छ ।

मेयर संयोजक रहने खानेपानी बोर्डले साउन १ गतेदेखि लागू हुने गरी खानेपानीसहितमा महसुल वृद्धि गरेपछि उपमेयर अइन्द्रविक्रम बेघासहित १० राजनीतिक दल र उपभोक्ता समिति आन्दोलित भएका थिए ।

आन्दोलन भइरहे पनि त्यसको प्रतिवाद गर्दै बसेका मेयर हर्क साम्पाङले आइतबार राति सहमतिमा आएर विवाद समाधान गरेका छन् । आफ्नो निर्णयबाट मेयर साम्पाङ पछि हटेसँगै तीन बुँदे सहमति गरेर विवाद समाधान भएकाे हाे ।

मेयर साम्पाङले विवाद समाधानमा कसैको हार र जित नभएर सबैले जित्नेगरी सहमति भएको प्रतिक्रिया सामाजिक सञ्जालबाट दिएका थिए । ‘वार्ता वीन वीन सिचुएसनमा सम्पन्न भएको छ,’ मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् ।

सहमतिसँगै तीन सातादेखि आन्दोलनरत १० राजनीतिक दल र स्थानीय उपभोक्ताले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् भने वार्तामा भएको सहमति सोमबार दिउँसो सार्वजनिक गर्ने तयारी गरिएकाे छ ।

आइतबार दिउँसोबाट सुरु भई राति सकिएको वार्तामा तीनबुँदे सहमति भएको छ । वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने तीनबुँदे सहमति भएको हो ।

कमेन्ट गर्नुहोस्