काठमाडौं । संघीय संसद्मा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अन्तिम टुंगो दिन छलफल हुँदै गर्दा बाहिर एकजना युवकले प्रदर्शन गरेका छन् ।
संसद् भवन परिसरमा अछामका एकजना युवक विद्यार्थी दीपक देवकोटाले एकल प्रदर्शन गरेका हुन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही गर’ भन्दै विद्यार्थीका रुपमा प्रवेश गरेका ती युवकले केही नाराहरु लेखिएकाे टेम्प्लेट बाेकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी युवकले ‘नक्कली भुटानी शरणार्थी, सहकारी ठगी र गिरीबन्धु टी-स्टैटका नाइकेहरूलाई कारबाही गर’ लेखिएको टेम्प्लेट बाेकेका थिए ।
प्रदर्शनमा संलग्न देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । क्याम्पसले आज संसदमा विद्यार्थीहरुलाई अवलाेकनका लागि संसद भवनभित्र छिराएकाे थियाे ।
मास्क लगाएका देवकोटाले त्यसमाथि कालो टेप टाँसेर विरोध प्रदर्शन गरेका थिए । उनलाई अहिले नयाँ बानेश्वर प्रहरी बृत्तमा राखिएको छ ।