काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सामाजिक सञ्जालमा मेयर बालेन्द्र शाह (बालेन) सँग चुम्बन गरेकाे जस्ताे देखिने ‘फेक’ फाेटाे र भिडियाे सामाजिक सञ्जालमा भाइरल भएपछि फेरि साइबर ब्यूराे गुहारेकी छिन् ।
यसअघि पनि उपप्रमुख डंगाेलले आफ्ना नाममा अनाधिकृत फेसबुक अकाउन्टहरू खाेलिएकाे र अनाधिकृत विवरणहरु राखिएकाे भन्दै साइबर ब्यूराेमा त्यस्ता अनाधिकृत फेसबुक पेज हटाएर त्यसका प्रयोगकर्तालाई कारबाही माग गरेकी थिइन् ।
उनले नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्र लेख्दै आफ्नो चरित्र हत्या भएको बताएकी हुन् । यसअघि त्यस्ता पेज बन्द गर्न आग्रह गरे पनि कार्यान्यवन हुन नसकेको उनले बताएकी छिन् । ती पेजमा विभिन्न खाले र विवादित सामाग्री प्रकाशन भइरहेको पनि उनले जनाएकी छन् ।
‘गत जेठ १३ र असार २५ गते केही फेसबुक पेज बन्द गर्न पत्राचार गरिएको थियो । तर अहिले पनि ती फेसबुक पेजहरू प्रयोगमै रहेको पाइयो’, डंगोलको सचिवालयले भनेको छ, ‘एआई प्रविधिबाट फोटो-भिडियो एनिमेशन गरी सामाजिक सञ्जालमा हालेर चरित्रहत्यासम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरियोस् । ती भिडियो, फोटो तथा समाचार हाटाइदिन र त्यस्ता गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन अनुरोध छ।’
उपप्रमुख डंगोलले पनि अनधिकृत पेजहरूमार्फत महिलाको चरित्रहत्या, समाजमा विद्वेष फैलाउने जस्ता गलत गतिविधि भइरहेकाले निगरानी गरी बन्द गराउन आग्रह गरिएको बताइन् ।
उनले स्वयम् आफू पनि त्यस्ता गतिविधिका कारण पीडित भएको बताएकी छिन् । अवाञ्छित गतिविधिमा निगरानी गर्न, रोक लगाउन र कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको उनले जानकारी दिइन् ।