काठमाडौँ । विशेष अदालत काठमाडौँले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनालाई भ्रष्टाचार अभियोगबाट सफाइ दिएको छ ।
विषेश अदालतका अध्यक्ष टेक नारायण कुँवरको अध्यक्षतामा बसेको इजलासले यस्तो आदेश दिएको हो । अदालतले उनीहलाई अभियोगबाट सफाइ हुने फैसला सुनाएको हो ।
अदालतले राजश्व हिनामिना अभियोगमा मेयर-उपमेयरसहित ४ जना तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, ३ जना राजश्व अधिकृत र ५ जना ढुंगाखानी संचालकलाई सफाइ दिएको हो ।
ढुंगाखानीमा राजश्व हिनामिना गरेर भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । गोदावरी नगरपालिकाका मेयर र उपमेयरले जनही ३ अर्ब ७० करोड रुपैयाँ भन्दा रकम दाखिला गर्नुपर्ने माग गर्दै अख्तियारले मुद्दा दायर गरेकाे थियाे । अदालतको आदेशसँगै अब उनीहरु यो अभियोगबाट सफाई पाएका छन्।
अख्तियारले ५ वर्षको अवधिमा नगरपालिका क्षेत्रमा संचालित ढुंगाखानीमा कानुनले तोकेको भन्दा कम राजश्व लिएर राज्यलाई हानी नोक्सानी गरेको भन्दै मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, ४ जना तत्कालीन प्रमुख प्रशासकीय अधिकतृ, ३ जना राजश्व अधिकृत र ५ जना ढुंगाखानी संचालकविरुद्ध मुद्दा दर्ता गरेको थियाे ।
आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्मको अवधिमा भएका विभिन्न ठेक्कामा मेयर उपमेयरसहित कर्मचारीकाे मिलेमतोमा राजश्व हिनामिना गरेको अख्यिारको दाबी थियाे । अख्तियारले मुद्दा दायर गरेसँगै मेयर उपमेयर निलम्बित भएका थिए ।