मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को विभिन्न शीर्षकका राजश्वका दरहरु बढाएकोमा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आपत्ति जनाएको छ ।
हेटौंडा उपमहानगरले विभिन्न शीर्षकका राजश्व दरहरु १५० प्रतिशतसम्म वृद्धि गरेको भन्दै महासंघ बागमती प्रदेशले विज्ञप्तिमार्फत असन्तुष्टि जनाएको हो ।
आर्थिक तरलताले निजी क्षेत्र चलायमान अपेक्षाकृत चलायमान हुन नसकेको र बैंक तथा वित्तिय संस्थाहरुबाट अपेक्षा अनुसार ऋण प्रवाह नभईरहेको र मुद्रास्फिती झन् झन् बढ्दै गईरहेको अहिलेको अवस्थामा हेटौंडा उपमहानगरपालिकाले एकपक्षीय रुपमा विभिन्न शीर्षकका करका दरहरु बढाएको भन्दै महासंघ बागमती प्रदेशले उपमहानगरको यस्तो कदमबाट निजी क्षेत्रलाई सशंकित तुल्याएको बताएको छ ।
कच्चा पदार्थ तथा बेलाबेलामा हुने इन्धनको मूल्यवृद्धिका कारण बजार भाउ निरन्तर उकालो लाग्दै गईरहेको र महँगीका कारण आम सर्वसाधारणसमेत प्रताडित हुनु परिरहेको यो अवस्थामा कतिपय व्यवसायीहरु व्यवसायबाट नै पलायन भईसकेको स्मरण गराउँदै महासंघ बागमतीले उपमहानगरपालिकाबाट एकपक्षीय रुपमा गरिएको अस्वभाविक राजश्वका दर वृद्धिको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले गरिरहेको विरोधमा ऐक्यवद्धता पनि जनाएको छ ।
उपमहानगरपालिकाले भने करको दायरा बढाउनुको सट्टा करका दरहरु अस्वभाविक रुपमा बढाउनु विधिसम्मत नदेखिने महासंघ बागमतीको ठहर छ ।
महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा हेटौंडा उपमहानगरपालिकालाई कर वृद्धि फिर्ता लिन अपिल पनि गरिएको छ ।