काठमाण्डाै । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको शव आफन्तले सनाखत गरेका छन्।
मृत्यु हुने व्यक्ति ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला रहेको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए।
दुर्घटनालगत्तै बिहीबार प्रहरीले मृतक महिला रहेको बताएको थियो। पछि मृतक भनिएकी महिला नै प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्।
त्यसपछि थप खोजी गर्दै जाँदा साँझमात्रै प्रहरीले मृत्यु हुनेमा पुरूष रहेको बताएको थियो। शुक्रबार बिहान मृतकका श्रीमतीसहितका आफन्तहरू उपस्थित भएर शव सनाखत गरेको डिएसपी कार्कीले जानकारी दिए।
शव सनाखतपछि अब पोस्टमर्टमको प्रक्रिया अगाडि बढाइने डिएसपी कार्कीले जानकारी दिए। बिहीबार काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
स्कुटर चालकको दुर्घटनास्थलमै मृत्यु भएको थियो। घटना दर्दनाक भएकाे थियाे भने स्थानीयबासीले प्रहरीविरुद्ध आन्दाेलन नै गरेका थिए । घटना ट्राफिक प्रहरीकाे लापरबाही चेकिङका कारण भएकाे र ट्रक चालक पनि प्रहरीले भगाएकाे भन्दै स्थानीयले प्रदर्शन गरेका थिए । ट्रक चालक सर्लाहीको मलंगवा नगरपालिका-२ का ३२ वर्षीय मलङ सतेन्द्र श्रेष्ठ हिजाे नै पक्राउ परेका छन्।
दुर्घटनापछि गठ्ठाघर तनावग्रस्त बनेपछि त्यहाँ ११८ जना प्रहरी परिचालन गरिएको थियो। त्यसबाट पनि भिड नियन्त्रण हुन नसकेपछि विभिन्न जिल्लाहरूबाट थप ११३ जना प्रहरी १३० जना प्रहरी, १२० जना सशस्त्र प्रहरी खटाइएको थियो।
प्रहरीबाट २२ राउन्ड अश्रुग्यास प्रहार भएको डिएसपी कार्कीले जानकारी दिए। भीड नियन्त्रण गर्ने क्रममा भक्तपुरका प्रहरी प्रमुख एसपी बेद विष्ट र प्रहरी सहायक हवलदार बहादुर राउत घाइते भएकाे प्रहरीले जनाएकाे छ । स्थानीय काे कति घाइते भए भन्ने जानकारी प्राप्त भएकाे छैन । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिए।