काठमाडौं । सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ ।
साउन ३२ गते न्यायधिश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले उक्त आदेश दिएको हो । करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सीजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो ।
उक्त आदेशविरुद्व यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनु पर्ने दाबीका साथ सर्वोच्च अदालत गएको थियो । सर्वोच्च अदालतले पनि उच्च अदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो ।
चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरेको चौधरी ग्रुपका अधिकारीहरुको दाबी छ ।
यशोदा फुड्सले आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न गरेको निवेदन पनि दर्ता नगरिदिन अदालतले आदेश दिएको थियो । उच्च अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको थियो ।
यस आदेशले वाइवाइको नक्कल गरी बजारमा पठाईएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने हुन्छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा बिक्रिवितरण गरिएमा अदालतको मानहानी गरेको मानिनेछ किन भने आदेशले यस्तो कार्य नगर्न भनेको छ ।
अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपद्वारा उत्पादीत वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखिको पहिलो रोजाईमा रहदै आएको छ ।